कुलमानलाई हटाउने सरकारको निर्णय

मकवानपुर/सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रीपरिषद् स्रोतले जनाएको छ । उनको स्थानमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
पदबाट बर्खास्त हुनुअघि घिसिङले मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुगेर चेपाङ बस्तीमा बत्ती बालेर गएका छन् । प्राधिकरणको चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत सोमबार दिउँसो राक्सिराङ गाउँपालिकाको पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रम उद्घाटनका लागि उनी राक्सिराङ पुगेका थिए । त्यहाँ उनले पालिकाका विभिन्न वडाका ३३० घरधुरीलाई निःशुल्क विद्युत मिटर वितरण गरेका छन् ।
चेपाङलाई बिजुली कार्यक्रमका लागि प्राधिकरणले ३० करोड खर्चेर राक्सिराङका विकट बस्तीहरूमा विद्युतीकरण गरेको हो । पूर्ण वचा विद्युतीकरण घोषणा भए पनि अझै केही बस्तीहरूमा विद्युत बिस्तार हुने क्रममै रहेको पालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
के भने कुलमानले ?
बर्खास्त हुनुअघि कार्यकारी निर्देशकको रुपमा अन्तिम पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै गरेका घिसिङले कुनै राजनीतिक टिप्पणी गरेनन् । सरकारले पटकपटक स्पष्टीकरण सोधेर बर्खास्त गर्ने स्पष्ट सङ्केत गरे पनि उनले त्यसतर्फ लक्षित गरेर केही बोलेनन् ।
कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरूले घिसिङलाई ‘उज्यालो नेपालका नायक’ भनेर सम्बोधन गरिरहँदा उनले भने नेपालको विद्युत विस्तारको जस आफूले मात्र लिनु उपयुक्त नहुने बताए । उनले भने, ‘म नेपाल सरकारको एउटा सामान्य कर्मचारी मात्रै हो । जनतालाई सेवा प्रवाह गर्नु सरकारको दायित्व हो, त्यही दायित्वलाई पूरा गर्न मैले निमित्त भएर काम मात्रै गरेको हुँ ।’
उनले राक्सिराङमा विद्युत बिस्तारका थप कार्यक्रमका लागि ८ करोड बराबरको टेन्डर भएर काम अघि बढिसकेको समेत जानकारी दिए ।
‘हिजो बत्ती काट्ने संस्था भनेर प्राधिकरणलाई चिनिन्थ्यो भने आज उज्यालो छर्ने संस्थाका रुपमा स्थापित भएको छ’ भन्दै उनले विद्युत बिस्तारमा खटिने कर्मचारीहरूलाई पनि धन्यवाद ज्ञापन गरे ।
राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ मा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका घिसिङलाई मनहरी बजारदेखि नै स्थानीयले बाजागाजा तथा घडासहित स्वागत गरेका थिए ।