हेटौँडामा आधारभूत तह परीक्षाः गणितको प्रश्नमाथि प्रश्नैप्रश्न

परम्परागत शैली पछ्याउने बानीले समस्या भयोः शिक्षा महाशाखा
छवि अनित्य
६ चैत्र २०८१, बिहीबार २०:००
;

मकवानपुर/हेटौँडा उपमहानगरपालिकामा बिहीबारदेखि सुरु भएको कक्षा ८ को आधारभूत तह परीक्षाको पहिलो दिनकै प्रश्नपत्रले परीक्षार्थी र शिक्षकहरू अन्यौलमा परेका छन् । पहिलो दिन गणित विषय अन्तर्गत प्रश्नपत्रमै उत्तर लेख्ने गरि प्रश्नपत्र तयार गरिएको थियो । प्रश्नपत्रको हल गर्ने विषयमा विद्यार्थीभन्दा बढी शिक्षकहरूमा अलमल देखिएको थियो ।

अधिकांश शिक्षक तथा विद्यार्थीहरूले पूर्व जानकारीबिना प्रश्नपत्रको ढाँचा परिवर्तन भएको गुनासो गरेका छन् । यस्तै प्रश्नपत्रमै उत्तर लेख्नुपर्ने अवस्थामा उत्तर लेख्ने ठाउँ पर्याप्त नभएको समेत उनीहरूले बताएका छन् ।

परीक्षा सकिएपछि कतिपय शिक्षकहरूले सामाजिक सञ्जालमा प्रश्नपत्रप्रति असन्तुष्टि पोख्दै प्रश्नपत्र निर्माणकर्ताहरूको बौद्धिकतामाथि समेत प्रश्न उठाएका छन् । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले भने सामाजिक सञ्जालमा आलोचना गरिएजस्तो नभएको प्रतिक्रिया दिएको छ ।

प्रश्नपत्रमा साँच्चै समस्या हो त ? भन्ने प्रश्नमा गणित विषय शिक्षक समेत रहेका जनप्रिय माध्यमिक विद्यालय, हेटौँडा १६ का प्रधानाध्यापक भूपेन्द्र चौलागाईँले भने त्यस्तो नभएको बताए । उनले भने, “प्रश्नपत्रमा उत्तर लेख्ने ठाउँ अलि कम भएको हो । तर त्यसका लागि थप उत्तरपुस्तिका प्रयोग गर्न सकिने विषयमा शिक्षा महाशाखाबाट निर्देशन भएको थियो ।”

परम्परागत शैली पछ्याउने बानीले समस्या भयोः शिक्षा प्रमुख कोइराला

हेटौँडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख सिताराम कोइरालाले परम्परागत ढङ्गको परीक्षाप्रणालीमा अभ्यस्त भइरहेका कारण यसपटक शिक्षक तथा विद्यार्थीहरूमा अन्यौल देखिएको बताए । पाठ्यक्रमले निर्धारण गरेको ग्रिडको आधारमा स्तरीकृत प्रश्नपत्र आउनु खुसीको कुरा भएको कोइरालाको भनाइ छ ।

शिक्षा प्रमुख कोइरालाले देशैभरको आधारभूत तहको परीक्षाको मापनमा एकरुपता ल्याउनका लागि यस वर्ष राष्ट्रिय परीक्षा बोर्डबाटै गणितसहित अङ्ग्रेजी र विज्ञान विषयमा यस्तो अभ्यास गरिएको उल्लेख गरे । यसका लागि प्रश्नपत्र समेत केन्द्रबाटै तयार भएर आएको कोइरालाले जानकारी दिए ।

उनले भने, “हाम्रो पालिकामा चाहिँ यसपटक गणित विषयमा मात्र यो अभ्यास गरिएको हो । अन्य विषयमा पालिकाले नै तयार गरेका पुरानै ढाँचाका प्रश्नपत्र आउँछन् ।”

पूर्व तयारी बिना प्रश्नपत्रको ढाँचा फेरिँदा अन्यौल भएको सन्दर्भमा कोइरालाले नगरका सबै प्रधानाध्यापकहरूलाई बुधबार अभिमुखीकरण गरिएको दाबी गर्दै प्रश्नपत्रमा दिइएको निर्देशन पढेर मात्र उत्तर लेख्न लगाएका ठाउँमा यस्तो समस्या नआएको बताए । यद्यपि उत्तरपुस्तिका सहितको प्रश्नपत्रमा विद्यार्थीको क्रमाङ्क, निरीक्षकको हस्ताक्षर गर्ने ठाउँ भने नभएकोले त्यसबारे विद्यालयका प्रधानाध्यापकहरूलाई आवश्यक निर्देशन दिइएको कोइरालाले बताए ।

प्रश्नपत्रको कभर पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*