एसईई परीक्षार्थीलाई दुर्गेशको सन्देशः परीक्षा भनेको अङ्क मात्र होइन

एसईई अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा
हेटौडा न्युज
५ चैत्र २०८१, बुधबार १२:३०
;

मकवानपुर/पछिल्लो समय युवापुस्ता र बालबालिकामाझ समेत चर्चित बनेका गायक दुर्गेश थापाले एसईई परीक्षालाई मध्येनजर गर्दै परीक्षा अवधिभर आफू कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । विभिन्न स्थानमा हुने मेला तथा महोत्सवहरूमा उनको प्रस्तुति हेर्न स्कुले विद्यार्थीहरूको भीड लागिरहँदा उनले परीक्षा अवधिभरका लागि नेपालभित्र हुने कुनै पनि कार्यक्रमका लागि सम्पर्क नगर्न आयोजकहरूलाई अनुरोध गरेका छन् ।

गायन कलालाई लिएर आलोचना खेपेपनि महोत्सवहरूमा किशोरकिशोरीहरूले उनको प्रस्तुतिलाई महत्त्व दिने गरेका छन् । बुधबार आफ्नो फेसबुक पेजमार्फत एक सन्देश जारी गर्दै थापाले आफू महोत्सवहरूमा सहभागी हुँदै गर्दा त्यसले बालबालिकाहरूको ध्यान भङ्ग गर्ने र पढाइमा समेत असर पर्ने उल्लेख गरेका छन् । समर्थकहरूको साथले नै आफू सफल भएको उल्लेख गर्दै उनले भनेका छन्, “जब हजुरहरूका लागि महत्त्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।”

भाइबहिनीहरूलाई सम्बोधन गर्दै उनले सन्देशमा उल्लेख गरेका छन्, “परीक्षा भनेको केवल अङ्क ल्याउने माध्यम मात्र होइन, यो मेहनत र इमानदारीको परीक्षा पनि हो ।” पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन भन्दै गायक थापाले परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई सफलताको शुभकामना दिएका छन् ।

एसईईका विद्यार्थीलाई सम्बोधन गर्दै दुर्गेशले जारी गरेको सन्देश

मङ्गलबार मात्रै थापाले गएको एक महिनाभन्दा कम अवधीमा तीसभन्दा बढी स्थानमा भएका कार्यक्रममा आफू सहभागी भएको विवरण सार्वजनिक गरेका थिए । उनको ‘दुश्मन हेरेको हेर्यै…’ बोलको गीत दुई महिनाको अवधीमा युट्युबमा ४ करोडभन्दा बढी पटक हेरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*