बागमतीमा अनलाइन स्वास्थ्य संस्था दर्ता प्रणाली सुरु

आठ महिनाको उपलब्धी ३६ प्रतिशत
हेटौडा न्युज
४ चैत्र २०८१, मंगलवार २०:१६
;

मकवानपुर/बामती प्रदेश स्वास्थ्य मन्त्रालयले अनलाइनमार्फत स्वास्थ्य संस्था दर्ता, अनुगमन तथा नवीकरण प्रणाली सुरु गरेको छ । मन्त्रालयको दोस्रो चौमासिक अवधिको प्रगति विवरण सार्वजनिक कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सो सेवाको औपचारिक उद्घाटन गरेका हुन् । यससँगै बागमती प्रदेशभरिका स्वास्थ्य संस्थाहरूको दर्ता, अनुगमन तथा नवीकरणका लागि अब मन्त्रालय तथा अन्य सम्बन्धित कार्यालयमा धाउनु नपर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले यस प्रणालीको अवलम्बनसँगै स्वास्थ्य संस्थाहरूको अनुगमन तथा नवीकरणमा विद्यमान विकृतिहरू अन्त्य हुने विश्वास व्यक्त गरे । ‘प्रत्येक स्वास्थ्य संस्थालाई छुट्टै युजर आइडी दिइनेछ’, प्रवक्ता गेलालले भने, ‘मन्त्रालयले तोकेको मापदण्डका आधारमा स्वास्थ्य संस्थाहरू आफैँले विवरण भरेर दर्ता तथा नवीकरणको प्रक्रिया अघि बढाउन सक्नेछन् । कसैलाई भनसुन गरिरहनु पर्दैन ।’

स्वास्थ्य संस्थाहरूले प्रविष्ट गरेको विवरणका आधारमा कार्यालयबाट स्थलगत अनुगमन हुने डा. गेलालको भनाइ छ । सो प्रणाली सुरु गर्ने बागमती पहिलो प्रदेश भएको उनले जानकारी दिए ।

आठ महिनाको उपलब्धी ३६ प्रतिशत

बागमती प्रदेशले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म ३६ दशमलव २४ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयले प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीका निष्कर्षहरू सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो । यद्यपि कार्यलयगत रुपमा ६५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्रालयले दाबी गरेको छ ।

आइतबारदेखि हेटौँडामा भएको तीन दिने समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापनपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री किरण थापा मगरले अन्य मन्त्रालयका तुलनामा प्रदेश स्वास्थ्य मन्त्रालयको भौतिक प्रगति उच्च रहेको दाबी गरे । बागमती प्रदेशभित्र टेलिमेडिसिन सेवा बिस्तारका लागि भइरहेका प्रयासबारे जानकारी दिँदै मन्त्री मगरले प्रादेशिक अस्पतालहरूमा जनशक्ति तथा उपकरण व्यवस्थापनलाई सुदृढ बनाउँदै लगिएको बताए ।

सो अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. प्रदीप ज्ञवालीले प्रतिष्ठानले आगामी वर्षसम्म एमबीबीएस कार्यक्रममा कम्तिमा ५० जनालाई सहभागी गराउने गरि तयारी भइरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*