मनहरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर/मकवानपुरको मनहरी–७, रमनटारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७, रमनटारमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ग ११ प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ क ०८२७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार बारा जिल्लाको कोल्हवी नगरपालिका–५ की ३४ वर्षीया सरिता देव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक ३५ वर्षीय शिव कुमार चौधरी र ६ वर्षीय अंश चौधरी घाइते भएका छन् । शिवकुमार मृतक सरिताका श्रीमान् भएको प्रहरीले उल्लेख गरेको छ । ट्रक र ट्रक चालक मनहरी–९, ज्यामिरेका ४९ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।