चोर भनी प्रतिकार गर्दा आफ्नै छोराको मृत्यु

हेटौडा न्युज
१६ फाल्गुन २०८१, शुक्रबार २१:४८
;

मकवानपुर/चोर भनी प्रतिकार गर्दा मकवानपुरको ईन्द्रसरोवरमा एक दम्पत्तीले आफ्नै छोरा गुमाएका छन् ।

बिहीबार राती ईन्द्रसरोवर गाउँपालिका ३, अदुवाबारीमा चोरी गर्न पुगेका एक पुरुष घरधनीको प्रतिकारमा गम्भीर घाइते भएको प्रहरीले जनाएको थियो । घटनामा घरधनी दम्पत्ती मीनबहादुर भ्लोन र देवीमाया भ्लोन समेत घाइते भएका थिए ।

सुरुवातमा घरधनीका आँखामा खुर्सानीको धुलो छरी लुटपाट गर्ने क्रममा प्रतिकारमा घाइते भएका पुरुषको परिचय खुल्न नसकेको र उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइए पनि उनी भ्लोन दम्पत्तीकै ३८ वर्षीय छोरा भरथबहादुर रहेको खुलेको हो ।

घरेलु हतियारले प्रतिकार गर्ने क्रममा भरथको टाउको, अनुहार र शरीरका अन्य भागमा गम्भीर चोट लागेकाले हेटौँडामा उपचार सम्भव नभएपछि भरतपुर पठाइएको थियो । मृतकका माइला भाइले मृतकको पहिचान गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनामा घाइते भ्लोन दम्पत्तीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको र घटनाका बारेमा इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*