भीम विराग स्मृति गायन प्रतियोगितामा चिराग प्रथम

मकवानपुर/हेटौँडा ५, पिप्लेमा रहेको ज्ञानोदय बालवाटिका आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको भीम विराग स्मृति गायन प्रतियोगितामा नवोदय शिशु सदन माविका चिराग डङ्गोल विजयी भएका छन् । वरिष्ठ कला साधक भीम विरागको १३ औँ स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगितामा बालजागृति इङ्लिस सेकेन्डरी स्कुलका आर्मन कार्की द्वितीय र सोलिड्यारिटी स्कुलकी वृष्मा गहतराज तृतीय भएका छन् ।
विजेताहरूलाई ट्रफीसहित क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्रदान गरिएको छ । वरिष्ठ सङ्गीतकार चण्डिप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा उज्ज्वल शर्मा भन्डारी, बाबु क्षेत्री र सुदीप क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विद्यालयले विगत ३ वर्षदेखि गायक, रचनाकार तथा सङ्गीतकार भीम विरागको स्मृतिमा हरेक वर्ष विद्यालयस्तरीय गायन प्रतियोगिता गर्दै आएको विद्यालयका संस्थापक श्यामकुमार बानियाँले जानकारी दिए ।
यसपटकको प्रतियोगितामा मकवानपुरका विभिन्न १९ वटा विद्यालयका २८ प्रतियोगीले सहभागिता जनाएका थिए ।
यसैबीच विद्यालयले ‘हाम्रो हेटौँडा’ स्थानीय विषय अन्तरगत स्थानीय खानाको प्रयोगात्मक अभ्यास स्वरुप फुड फेस्टिभलको समेत आयोजना गरेको छ । कोदो तथा फापरबाट बनेका विभिन्न परिकारहरूका साथमा तामाङ तथा नेवार समुदायका भोजमा प्रयोग हुने परिकार तथा सामग्रीका स्टलहरू सो अवसरमा राखिएका थिए ।
विद्यालयले शुक्रबार आफ्नो तेह्रौँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह समेत मनाउन लागेको संस्थापक बानियाँले जानकारी दिए ।