‘हेरेको हेर्यै’ बनाउन शुक्रबार दुर्गेश हेटौँडा आउँदै

मकवानपुर/हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ मा शुक्रबार दर्शकलाई नचाउन गायक दुर्गेश थापा आउने भएका छन् । बिहीबार कलाकारहरू उर्गेन दोङ, कुलेन्द्र विश्वकर्मा लगायतबाट मनोरञ्जन लिएका हेटौँडाका दर्शकले दुर्गेशको प्रस्तुतिलाई उत्तिकै रुचाउने आयोजकले दाबी गरेको छ ।
दुर्गेश थापाको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्यै…’ युवापुस्तामा लोकप्रिय छ । युट्युबमा रिलिज भएको एक महिनामा यो गीतले २ करोड ६० लाख बढी भ्युज पाएको छ ।
शुक्रबार नै महोत्सवमा ‘बहुला’ सिरिज गीतका गायक रमेशराज भट्टराईको समेत प्रस्तुति रहने छ । यस्तै लोक गायक सरोज लामिछाने, गायक विनय कुमार कार्की र रमेश श्रेष्ठले पनि प्रस्तुति दिने भएका छन् ।
फागुन ६ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरूले प्रस्तुति दिँदै आएका छन् ।
३ सयभन्दा बढी व्यापारिक स्टलसहितका आकर्षण रहेको मेला हेटौँडा १०, टिसिएन चौरमा आइतबारसम्म चल्नेछ ।