पशुपतिसँगै तीन गायिकाले आइतबार मेला तताउने

मकवानपुर/हेटौँडामा भइरहेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ मा आइतबार बहुचर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने भएका छन् । शर्मासँगै पछिल्लो समय निकै नै चर्चामा रहेका तीन गायिकाले महोत्सवको महौल तताउने आयोजकले जनाएको छ ।
आइतबार मेलामा पछिल्लो समयको हिट गीत ‘ढलेँ, ढलेँ…’ गायिका शान्ता रानी परियारसँगै मञ्जु पौडेल र टीका प्रसाईंले शर्मालाई साथ दिनेछन् । यसका साथै गायक सुमन विटी र स्थानीय व्यान्डहरूले पनि आइतबार आफ्नो प्रस्तुति राख्ने भएका छन् ।
महोत्सवमा भइरहेको ‘हेटौँडा आइडल’ गायन प्रतियोगिता अन्तर्गत आइतबार उत्कृष्ट १२ को छनौट हुँदैछ ।
गायिका एलिना चौहान, गायक कमल खत्री लगायतको प्रस्तुति हेर्न शनिबार आठ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो ।
मङ्गलबारदेखि हेटौँडा १०, टिसिएन चौरमा जारी मेलामा १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेलामा विभिन्न निर्माण सम्बद्ध कम्पनीहरूको उपकरण प्रदर्शनीका साथै औद्योगिक एवम् व्यवसायिक स्टलहरू पनि राखिएका छन् । यस्तै विभिन्न मनोरञ्जनात्मक खेलहरू तथा खानाका स्टलहरू सहित करिब ३५० स्टल रहेको मेला फागुन १८ गतेसम्म चल्नेछ ।