प्रकृति लम्साल मृत्युको घटनामा दुवै देशका विद्यार्थी सडकमा

मकवानपुर/भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली छात्रा प्रकृति लम्सालको आइतबार राती भएको मृत्यु प्रकरणलाई लिएर नेपाल र भारत दुवै देशका विद्यार्थी संगठनहरूले विरोध जनाएका छन् । घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारप्रति उनीहरूले खेद व्यक्त गरेका छन् ।
घटनाको निष्पक्ष छानबिन गर्दै प्रकृतिलाई न्याय दिनुपर्ने मागसहित नेपालका विद्यार्थी संगठनहरू सडकमा उत्रिएका छन् । तीन ठुला विद्यार्थी संगठनहरू अनेरास्ववियु, नेविसंघ तथा अखिल (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनहरूले घटनाको विरोधमा विज्ञप्ति जारी गरेका हुन् ।
अनेरास्ववियुले मङ्गलबार भारतीय दूतावास क्षेत्रमै पुगेर विरोध प्रदर्शन समेत गरेको छ ।
यस्तै भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) तथा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका विद्यार्थी संगठनहरूले घटनापछि आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले गरेको दमन खेदयोग्य भएको जनाएका छन् । नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न उर्दी गर्ने काम गैरकानूनी मात्रै नभई मानव अधिकारको हनन् तथा नेपाल र भारत दुई देशको बलियो सम्बन्धलाई प्रभाव पार्ने कुरा भएको उनीहरूले बताएका छन् ।
केही भारतीय विद्यार्थी संगठनहरूले केआईआईटीमै पुगेर समेत विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत समेत नेपाली विद्यार्थीहरूको समर्थनमा लेख्न सुरु गरेका छन् ।
विश्वविद्यालय फर्कन थाले नेपाली विद्यार्थी
यसैबीच, केआईआईटी घटनापछि छात्राबास छाडेका नेपाली विद्यार्थीहरू फर्कने क्रम सुरु भएको छ । कलेजका संस्थापक, उपकुलपतिदेखि रजिस्ट्रारसम्मले उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्दै माफी मागेपछि नेपाली विद्यार्थीहरू छात्रावासमा फर्किने क्रम सुरू भएको हो ।
दिल्लीस्थित नेपाली दूतावास स्रोतले मङ्गलबार साँझसम्म ६० जना नेपाली विद्यार्थी होस्टल फर्किसकेको उल्लेख गरेको छ । मृतक प्रकृति लम्सालको शवको पोस्टमार्टम सम्पन्न भइसकेको र शव बुधबार नेपाल ल्याउने तयारी भएको छ । यस्तै, कलेज प्रशासनले नेपाली विद्यार्थीलाई होस्टेलबाट अपमानजनक ढङ्गले निकाल्ने तीनजना कर्मचारीलाई निलम्बन गरेको तथा विद्यार्थीलाई कुटपिट गर्ने सुरक्षा गार्डलाई प्रहरीको जिम्मा लगाएको जनाएको छ ।
एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी
कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनालाई उल्लेख गर्दै शिक्षा मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मङ्गलबार विज्ञप्ति जारी गर्दै केआईआईटी घटनाको न्यायपूर्ण समाधान नगरिए ओडिसा राज्यका शिक्षणसंस्थामा अध्ययनका लागि प्रदान गरिँदै आएको एनओसी रोक्न सकिने जनाएका हुन् ।
मन्त्रालयले भारतका विश्वविद्यालयमा पढ्ने हजारौँ नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास, अन्योल, मनोविज्ञानमा पर्ने प्रभावलाई समेत ख्याल गरी केआईआईटीको पठनपाठन पूर्ववत् सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको समेत ध्यानाकर्षण गराएको छ ।