फागुन १ गते हेटौँडा बालमैत्री उपमहानगर घोषणा हुँदै

हेटौडा न्युज
२९ माघ २०८१, मंगलवार १९:४०
;

मकवानपुर/तीन वर्षको गृहकार्यपछि हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुने भएको छ । मङ्गलबार पत्रकार सम्मेलनमार्फत उपमहानगरपालिकाले आगामी फागुन १ गते बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने जानकारी गराएको हो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख एवम् बालमैत्री स्थानीय शासनयुक्त नगर समिति तथा घोषणा मूल समारोह समिति संयोजक मिना कुमारी लामाले बालमैत्री घोषणाका ५१ सूचकहरू पूरा गरी निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा समारोहको तयारीमा रहेको जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा संयोजक लामाले ४३ वटा सूचकमा शतप्रतिशत र अन्य सूचकमा आवश्यक नतिजा हासिल गर्दै घोषणाको अवस्थामा आइपुगेको बताइन् ।

उपमहानगरपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक सूचकहरू पूरा गरेपछि वडागत सूचकहरूलाई एकीकृत गरी अन्तिम सूचक मापनको प्रतिवेदन, स्थिति पत्र तथा पञ्चवर्षीय रणनीति समेत तयार गरिसकेको जनाएको छ । साथै प्रदेशस्तरीय अनुगमन समितिबाट अनुगमन गरी बाल मैत्री स्थानीय शासनयुक्त उपमहानगरको रुपमा घोषणा गर्नका लागि प्रदेश मन्त्रालयबाट अनुमति प्राप्त भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

फागुन १ गते हेटौँडा ५ मा रहेको पिप्ले क्याम्पा रङ्गशालामा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा घोषणा सभा हुने संयोजक लामाले बताइन् ।

हेटौँडा नगर क्षेत्रका विभिन्न स्थानबाट प्रभातफेरिसहित पिप्ले क्याम्पा रङ्गशालामा हुने घोषणा सभालाई नगरको गौरवको रुपमा लिई सहभागी हुन उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

बालमैत्री घोषणाको विभिन्न चरणमा उपमहानगरपालिकाका १९ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन् । यस क्रममा २६५ वटा टोलस्तरीय र १०६ वटा विद्यालयस्तरीय गरी ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय बाल समूह सञ्जाल उपमहानगरपालिकाभित्र क्रियाशील रहेका छन् । घरधुरी तथाङ्क सङ्कलन सर्वेक्षण, २०७९ का अनुसार हेटौँडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका बालबालिकाको सङ्ख्या ५० हजार १९५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*