आइतबारदेखि हेटौँडामा राष्ट्रिय बुद्धिचाल हुँदै

हेटौडा न्युज
१२ माघ २०८१, शनिबार १८:४८
;

मकवानपुर/नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौँडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । माघ १३ गतेदेखि १९ गतेसम्म २५ औँ राष्ट्रिय बुद्धिचाल तथा १० औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।

कार्यक्रमका बारेमा जानकारी दिन शनिबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता जनाउने तयारीस्वरुप प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगितामा महिला तथा पुरुष दुवैस्पर्धामा प्रथम हुने खेलाडीले श्रीलंकाको कोलम्बोमा आगामी मार्च १० देखि १९ सम्म हुने एशिएन जोनल गेममा सहभागिता जनाउन पाउने छन् । सो प्रतियोगितामा सहभागी हुने खेलाडीको सम्पूर्ण खर्च नेपाल बुद्धिचाल महासंघले व्यहोर्ने महासचिव लामाले जानकारी दिए ।

यस्तै प्रतियोगितामा दोस्रो तथा तेस्रो हुने खेलाडीले जनही १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबले व्यवस्थापन गर्ने प्रतियोगिताका लागि कूल २४ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

२५ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितातर्फ अघिल्लो संस्करणका विजेताहरू राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भन्डारी लगायतको सहभागिता रहने छ । यस्तै १० औँ राष्ट्रिय महिला बुद्धिचालतर्फ पनि अघिल्लो संस्करणका विजेताहरू सिन्दिरा जोशी, कृतिसरा अधिकारीसँगै अन्य खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका खेलहरू माघ १३ गतेदेखि नै सुरु भए पनि औपचारिक उद्घाटन भने माघ १४ गते हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*