सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुँदै
मकवानपुर । हेटौंडाको सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा विभिन्न सप्ताहव्यापी कार्यक्रमहरु गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख गन्तव्यका रुपमा रहेको सहिद स्मारकमा माघ १६ गतेसम्म विभिन्न क्रियाकलापहरु गरेर दिवस मनाउन लागिएको आज गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । समितिका सचिव रघुनाथ खुलालका अनुसार हिजो १० गे स्मारक परिसरमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरेर सप्ताहव्यापी कार्यक्रमको शुरुवात गरिसकेको जानकारी दिएका थिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ ११ गते पत्रकार भेटघाट तथा अन्तरक्रियामा माघ १२ गते स्मारक परिसर सरसफाई, माघ १३ गते रक्तदान कार्यक्रम, माघ १४ गते हेटौंडा–१२ मा रहेको सहिद लखन थापा वाटिकामा श्रद्धाञ्जली कार्यक्रम, माघ १५ गते “लोकतन्त्र प्राप्तिका लागि राजनितिक दलको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता र सहिद दिवसका दिन माघ १६ गते बिहान प्रभातफेरी कार्यक्रम र नेपाली सेना, नेपाल प्रहरीबाट सहिदहरुप्रति सलामीसहित श्रद्धाञ्जली कार्यक्रम गर्ने समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डोरमणी पौडेलले सहिद स्मारकको विस्तार गर्दै त्यहाँ रहेका बन्यजन्तुहरुको उचित वासस्थानका लागि प्रयास भईरहेको बताएका थिए । पत्रकारहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष पौडेलले पछिल्लो समय राति पनि पर्यटकहरु घुम्न आउने गरेकोमा आफूहरु उत्साहित भएको र यसको थप विस्तार व्यवस्थापनमा समितिले काम गरिरहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर जिल्लामा निर्वाचित महासंघका पदाधिकारी, सदस्यहरुलाई बधाई तथा सम्मान पनि गरिएको थियो ।
सहिद स्मारकमा बनभोज, विभिन्न संस्थागत कार्यक्रम लगायत घुम्नैकालागि पनि नेपालसहित भारतबाट पर्यटकहरु आउने गरेका छन् ।