मकवानपुरगढीमा मनाइयो २६२ औँ विजयोत्सव

हेटौडा न्युज
१० माघ २०८१, बिहीबार १८:२०
;

मकवानपुर/ऐतिहासिक मकवानपुरगढीमा २६२ औँ विजयोत्सव मनाइएको छ । वि. सं. १८१९ माघ १० का दिन गोर्खाली सेनाले मिरकासिम मुगल फौजलाई परास्त गरेको दिनको सम्झनास्वरुप बिहीबार मकवानपुरगढी गाउँपालिकाको आयोजनामा विजयोत्सव मनाइएको हो ।

ऐतिहासिक मकवानपुरगढी किल्लाको प्राङ्‍गणमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले झन्डोत्तोलन गरेका थिए । यस्तै नेपाली सेनाको गोरख बहादुर गणको तर्फबाट सलामी अर्पण गरिएको थियो ।

विजयोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा गढीजस्ता ऐतिहासिक स्मारकहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । भ्रमणका लागि आउने पर्यटकहरूलाई गढीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको बारेमा बुझाउन सक्नुपर्ने भन्दै उनले यसका लागि गुरुयोजनासहितको विकास अघि बढाउनुपर्ने उल्लेख गरे । मुख्यमन्त्री लामाले भने, “गुरुयोजना बिना गरिने विकासले उपलब्धी दिँदैन । गुरुयोजनासहित अघि बढ्दा बागमती प्रदेश सरकार सहयोगका लागि सदैव तत्पर छ ।”

कार्यक्रममा मकवानपुरगढी २ नम्बर वडाध्यक्ष बखानसिंह पाख्रिनले गढी दरबारको ऐतिहासिक पृष्ठभूमि तथा सो क्षेत्रको विकासका लागि भइरहेका गतिविधिबारे जानकारी गराए । पुरातत्त्व विभागसँगको समन्वयमा दरबार क्षेत्रको जिर्णोद्धारका काम भइरहेको भन्दै पाख्रिनले प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वयमा थप कार्य भइरहेको बताए । नेपालका १०० उत्कृष्ट पर्यटकीय गन्तव्यमा मकवानपुरगढी पनि रहेको उल्लेख गर्दै उनले पर्यटकहरूको सुविधाका लागि होमस्टेमार्फत सरल आवासको व्यवस्थापन भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*