यू-१९ महिला विश्वकपः नेपालको लगातार दोस्रो हार

हेटौडा न्युज
७ माघ २०८१, सोमबार १६:५४
;

मकवानपुर/अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गरेपछि नेपालले आइसिसी यू-१९ महिला विश्‍वकपमा लगातार दोस्रो हार व्यहोरेको छ ।

मलेसियामा सोमबार भएको समूह ‘डी’ को खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएसँगै नेपाल अङ्‍कतालिकाको पुछारमा पुगेको छ ।

पहिले ब्याटिङ गर्दै नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्‍यो ।

स्कटल्यान्डका ओपनरद्वय पिप्पा केली शून्य र इम्मा वाल्सिङ्घमलाई एक रनमा आउट गरेपनि विकेटकिपर ब्याटर पिप्पा स्परोलले ४७ बलमा ३५ रन बनाएपछि नेपाल अप्ठ्यारोमा पुगेको थियो । अन्तिम विकेटका लागि ग्याब्रियला फोन्टेन्ला र किर्स्टी म्याककोलले अविजीत १६ रनको साझेदारी गर्दै नेपाललाई निराश पारेका थिए ।

त्यसअघि मलेसियाको क्‍वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा २७ रन जोडिन् । महतोपछि सावित्री धामीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङमा स्कटल्यान्डकी मोइसी म्याकेइराले ५ विकेट लिइन् ।

यसअघि पहिलो खेलमा बङ्‍गलादेशसँग हार ब्यहोरेको नेपालले अब समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियाको सामना गर्ने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*