नेपालका लागि खोखोमा भारत बाधक
मकवानपुर/पहिलोपटक भएको खो-खोको विश्वकप प्रतियोगितामा नेपाल उपविजेतामा सीमित भएको छ । भारतको नयाँदिल्लीमा सम्पन्न विश्वकप खो-खो प्रतियोगिताको महिला तथा पुरुष दुवै स्पर्धामा भारतीय टोली नेपालमाथि हाबी हुँदै ट्रफी उचल्न सफल भयो ।
आइतबार सम्पन्न उपाधी भिडन्तमा नेपाली महिला टोलीले ४०-७८ ले भारतलाई नतिजा सुम्पियो । तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक देखिएको पुरुष टोलीको नतिजा पनि ३६-५४ ले भारतको पक्षमा रहँदा दुवै टोली फाइनलमा पुगेर पनि उपाधीबिहीन हुन पुगेको हो ।
दुवै टोली समूह चरणमा पनि भारतसँग नै पराजित भएका थिए । फाइनलमा समूह चरणको हारको बदला लिने अवसर भए पनि नेपाली टोलीले चुकेको हो ।
पुस २९ गतेदेखि सुरु भएको प्रतियोगिताको महिलातर्फ १९ र पुरुषतर्फ २० राष्ट्रको सहभागिता रहेको थियो । खो-खो महासङ्घ भारत र अन्तर्राष्ट्रिय खो-खो महासङ्घले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो ।