खो-खोको पहिलो विश्वकपमा दुवै नेपाली टोली फाइनलमा

उपाधीका लागि भारतलाई हराउनुपर्ने
हेटौडा न्युज
५ माघ २०८१, शनिबार २२:१६
;

मकवानपुर/पहिलोपटक हुँदै गरेको खो-खो विश्वकप प्रतियोगिताको उपाधीका लागि महिला र पुरुष दुवै स्पर्धामा नेपाल र भारत आमनेसामने हुने भएका छन् । समूह चरणमा दुवै नेपाली टोली भारतसँग पराजित हुँदै समूह उपविजेता बनेका थिए । अब आइतबार हुने फाइनल खेलमा नेपाललाई दुवै स्पर्धामा भारतसँग बदला लिँदै उपाधी जित्ने अवसर हुने छ ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा महिला टोलीले युगान्डालाई हराएर फाइनल यात्रा तय गर्दै गर्दा पुरुष टोलीले इरानलाई सेमीफाइनलमा स्तब्ध पारेको थियो ।

शनिबार भएको सेमीफाइनलमा नेपाली पुरुष टोलीले इरानी टोलीलाई ७२-२० ले पराजित गरेको हो । समूह चरणमा उपविजेता बन्दै नेपाली पुरुष टोलीले क्वार्टरफाइनलमा बङ्गलादेशलाई ६७-१८ ले हराएको थियो ।

यसअघि शनिबार नै नेपाली महिला टोलीले अफ्रिकी प्रतिस्पर्धी युगान्डालाई ८९-१८ को अन्तरले सहजै पाखा लगाएको थियो । यसअघि नेपाली महिला टोलीले क्वार्टरफाइनलमा १०३-८ को फराकिलो अन्तरले इरानलाई पराजित गरेको थियो ।

भारतीय महिला टोली सेमीफाइनलमा दक्षिण अफ्रिकालाई ६६-१६ ले हराउँदै फाइनल प्रवेश गरेको हो । यस्तै शनिबार राती भएको पुरुष सेमीफाइनलमा भारतले दक्षिण अफ्रिकालाई नै ६२-४२ को अन्तरले पराजित गरेको छ ।

आइतबार महिलातर्फको फाइनल खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे र पुरुषतर्फको खेल राती साढे ८ बजे हुने छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*