बालज्योतिमा खेलकुद सप्ताह सुरु
मकवानपुर/हेटौँडा ५, पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयको आयोजनामा ‘बालज्योति खेलकुद सप्ताह २०८१’ शुक्रबारबाट सुरु भएको छ । ‘खेलसहितको शिक्षा, बालज्योतिको इच्छा’ नारासहित शुक्रबार पिप्लेक्याम्पा रंगशालामा खेलकुद सप्ताह सुरु भएको हो । खेलकुद सप्ताहको एक समारोहका बीच हेटौँडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबहादुर महतले उद्घाटन गरे ।
खेलकुद सप्ताहको उद्घाटनअघि विद्यालय परिसरबाट झाँकीसहितको र्याली रंगशालासम्म पुगेको थियो । उद्घाटन समारोहमा मार्सल आर्ट्सतर्फ तेक्वान्दोका खेलाडीहरुले काता प्रदर्शनी गरेका थिए ।
पुस २९ गतेसम्म चल्ने खेलकुद सप्ताह अन्तर्गत विभिन्न २६ वटा स्पर्धामा विद्यालयका ४ सदनबीच प्रतिस्पर्धा हुने विद्यालयका सहायक प्रधानाध्यापक चिरञ्जीवि घिमिरेले जानकारी दिए । फुटबल, भलिबल, ब्याडमिन्टन, एथलेटिक्स, बुद्धिचाल लगायतका खेलहरूमा छात्र तथा छात्राहरूबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने घिमिरेले बताए । यसका साथै खेलकुद सप्ताहमा विद्यार्थीहरूका विभिन्न साँस्कृतिक प्रस्तुतिहरू समेत रहने बताइएको छ ।
विभिन्न स्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गर्नुका साथै प्रथम हुने सदनलाई ट्रफी प्रदान गरिने भएको छ । खेलकुद सप्ताह उद्घाटन कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भरत अर्यालले विद्यार्थीको अनुशासन र मनोबल बढाउनका लागि प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गरे । विद्यालयले यस वर्षदेखि सप्ताहव्यापी रुपमा खेलकुदका कार्यक्रम आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा हेटौँडा ५ का वडाध्यक्ष सुशील घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो ।