मउवा संघ निर्वाचनः उम्मेदवारका “दिल खोलेर गोप्य खर्च”
मकवानपुर/बुधबारदेखि सुरु भएको मकवानपुर उद्योग वाणिज्य संघको ५८ औँ साधारणसभा तथा अधिवेशन खासगरी हेटौँडा बजारको चहलपहल बेग्लै बनेको छ । झन्डै एक महिनादेखि प्रत्येक चोकचोकमा लाखौँ खर्चेर प्रत्याशीहरूका ब्यानर झिलिमिलि बनाएर टाँगिएका छन् । मत माग्न चल्तीका गायकगायिकाको आवाजमा गीत बनाएर घन्काइएको छ भने सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा बेहिसाब खर्च गरिएका छन् । यी सबै हेर्दा यो तामझाम संसदीय तथा स्थानीय तहको निर्वाचनभन्दा कम छैन । फरक यत्ति हो, यो चुनावमा मतदान गर्ने जम्मा मतदाता संख्या चाहिँ स्थानीय निकायको कुनै एउटा वडाको भन्दा कम छ ।
राजनीतिक दलको निर्वाचनमा निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । यो आचारसंहिताले उम्मेदवारले कतिसम्म खर्च गर्न पाउने, खर्च कसरी गर्ने, प्रचारप्रसारमा केके गर्न पाउने आदि निर्धारण गरिएको छ । आचारसंहिताभन्दा बाहिर गएर तडकभडकपूर्ण प्रचारबाजी र मतदाता लोभ्याउन अनावश्यक खर्च गरे उम्मेदवारी नै रद्द हुनेसम्मको कारबाहीको प्रावधान छ । तर उद्योगी व्यवसायीहरूको निर्वाचनमा त्यस्तो खालको आचारसंहिता बनेको छैन । जसले गर्दा व्यवसायीहरूले आफ्नो सम्पत्तिको भरपूर प्रयोग मत माग्नका लागि गरिरहेका छन् ।
निर्वाचनमा प्यानल बनाएर उत्रिएका अनिल अग्रवाल र प्रमोद सिंह रानाभाटले हेटौँडाको रोयल प्यालेसमा प्यानल घोषणा गरे । दुवै प्यानलको घोषणासभामा जम्माजम्मी २ हजार ५ सयभन्दा बढीलाई खाना खुवाइएको थियो जबकि उद्योग वाणिज्य संघको जम्मा कायम रहेको मतदाता संख्या २ हजार ४६ मात्र रहेको छ । दुवै पक्षबाट घोषणासभामा सहभागीहरूलाई खानाका लागि मात्र २० लाख हाराहारी खर्च भएको थियो । यसबाहेक चुनावी चहलपहल बढेयता हेटौँडाका ठूला तथा मझौला होटलहरू व्यवसायीहरूले भरिँदै आएका छन् ।
उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार मात्र नभई अन्य पदका प्रत्याशीहरू समेत खर्च गर्ने विषयमा पछि परेका छैनन् । यद्यपि कति खर्च भयो भन्ने प्रश्नमा कोही उम्मेदवार पनि खुलेर बोल्न चाहँदैनन् । जानकारहरू भने व्यवसायी नेताहरूले गरिरहेको खर्चलाई संघीय, प्रदेश तथा स्थानीय तहको चुनावभन्दा भड्किलो रुपमा लिन्छन् । औपचारिक कार्यक्रम र प्रचारप्रसारमा जति खर्च भएको छ त्योभन्दा कैयौँ गुणा बढी खर्च आन्तरिक रुपमा मतदातालाई प्रभावित पार्नका लागि भइरहेको छ । सम्पूर्ण व्यापार व्यवसाय क्षेत्र नै आर्थिक रुपमा धरासायी हुँदै गएको अवस्थामा उद्योग वाणिज्य संघको पदाधिकारी बन्नका लागि भइरहेको खर्चलाई खास सन्तोषजनक मान्न सकिँदैन ।
व्यापार व्यवसायको अवस्था कहिँ पनि सन्तोषजनक छैन भन्ने कुरा स्वयम् व्यवसायीहरू नै स्वीकार्छन् । आर्थिक मन्दी र निरन्तर व्यवसाय ओरालो लागेकै कारण बैंक तथा वित्तीय संस्थामा व्यापारका लागि लिएको कर्जाको ब्याज समेत तिर्न धौधौ भएको विभिन्न मञ्चहरूमा व्यवसायीहरूले दाबी गर्दै आएका छन् । यस्तै कारणले संघमा यसपटक ८ सय ६१ मतदाताले नवीकरण समेत गराएका छैनन् । संघका कार्यकारी सचिव पवन कार्कीका अनुसार अघिल्लो अधिवेशनमा २ हजार ९०७ मतदाता रहेकोमा यसपटक २ हजार ४६ मा सीमित भएको छ । कर तिर्नै नसक्ने अवस्था आएको कुरा चलिरहँदा हेटौँडा उपमहानगरपालिकाले करको दर बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघकै नेतृत्वमा आन्दोलन समेत भयो । यस्तो अवस्थामा उद्योग वाणिज्य संघको चुनावका लागि व्यवसायीहरूले दिल खोलेर गरेको ‘गोप्य’ खर्चले थुप्रै प्रश्नचिह्न खडा गरेको छ ।
झन्डै ६ दशक लामो इतिहास बोकेको मकवानपुर उद्योग वाणिज्य संघमा यस किसिमको भड्किलो चुनाव संघकै हितमा नरहेको अग्रज व्यवसायीहरूले बताइरहेका छन् । निर्वाचनका बेला मतदातालाई प्रभावमा पारेर जितिएको चुनावले जोसुकैले जिते पनि भोलिका दिनमा संघलाई त्यसले अधोगतितर्फ धकेल्ने छ । अधिवेशनका बेला सदस्यहरूबाट जम्माजम्मी १५ लाख रुपैयाँ पनि नवीकरण शुल्क नउठ्ने संघको नेतृत्वका लागि व्यवसायीहरूबाट भइरहेको अप्रत्याशित खर्चका बारेमा स्वयम् उम्मेदवारहरूले गम्भीर भएर सोच्नुपर्छ ।
उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमासम्बन्धमा कुनै आचारसंहित नबनेकाले पनि यो अवस्था आएको निर्वाचन अधिकृत ईश्वरराज ढकालको बुझाई छ । व्यवसायीहरूको निर्वाचनमा पहिलोपटक यस्तो भड्किलोपन देखिएको भन्दै ढकालले यसबारेमा ध्यानाकर्षण भएको र आगामी निर्वाचनमा खर्चको सीमाबारे पनि आचारसंहिता बन्ने संकेत गरे । विगतमा व्यवसायीहरूको चुनाव यति धेरै खर्चिलो कहिल्यै नदेखिएकाले पनि आचारसंहिताको आवश्यकता महसुस नगरिएको भन्दै उनले अब भने यस विषयमा सोच्नुपर्ने समय आएको बताए ।