मउवासंघमा ७ जना निर्विरोध

२ जनाको उम्मेदवारी खारेज
हेटौडा न्युज
२५ पुष २०८१, बिहीबार १९:५६
;

मकवानपुर/मकवानपुर उद्योग वाणिज्य संघमा ७ जना निर्विरोध भएका छन् । संघको यही पुस २७ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये उद्योगतर्फका सचिव रुपकराज दाहाल र एशोसिएटतर्फका सचिव माधव ज्ञवालीसहित ७ जना निर्विरोध चयन भएका हुन् ।

संघको निर्वाचन कार्यतालिका अनुसार बिहीबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको थियो । निर्वाचन अधिकृत ईश्वरराज ढकालका अनुसार एशोसिएटतर्फको सदस्यहरू बिक्रमकुमार सन्जेल र सुकृतराज पराजुली तथा वाणिज्यतर्फका सदस्यहरू शंकरप्रसाद कालाखेती, निलमकुमारी पाण्डे र निलम बजगाईँ निर्विरोध भएका हुन् ।

बिहीबार संघको आगामी अध्यक्ष पदका लागि २ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यसअघि नै दुईवटा फरक प्यानल बनाएर चुनावी प्रचार थालिसकेका वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोद सिंह रानाभाटले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

महासचिव पदका लागि प्रतिमा श्रेष्ठ र विकेशलाल श्रेष्ठक उम्मेद्वारी दर्ता हुँदा कोषाध्यक्ष पदका लागि कृष्ण कर्माचार्य (भाइ) र तेजराज अधिकारीको उम्मेद्वारी परेको छ । सह–कोषाध्यक्षमा राधिका सामरी पाण्डे र निमल वैद्यले उम्मेदवारी दर्ता गरेका छन् । एशोसिएटतर्फ उपाध्यक्षमा विष्णु खनाल र उज्जवल चौलागाईं उम्मेदवारी पर्दा वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुलीको उम्मेद्वारी परेको छ । उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती र रविन्द्र प्रसाद घिमिरेको उम्मेद्वारी परेको छ । यस्तै वस्तुगत उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारीको उम्मेद्वारी परेको छ भने सचिव पदका लागि राजाराम कार्की र नेत्रप्रसाद खतिवडाले उम्मेद्वारी दर्ता गराएका छन् ।

वाणिज्यतर्फ सदस्यमा बालकृष्ण बजगाईँ, विष्णुप्रसाद दाहाल, यज्ञ बहादुर राय (विनोद), राजेन्द्र लामिछाने (राजेश), राजदेव बानिया, रविन ढकाल, सन्तोष घिमिरे र होमनाथ खनाल (रोशन) को उम्मेद्वारी परेको छ । एसोसिएट सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीले उम्मेदवारी दर्ता गरेका छन् । उद्योगको सदस्य खुलामा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला (कृष), जगदीश दाहाल, दिपक शिवाकोटी र भूपेन्द्र प्रसाद अधिकारी तथा महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवालको उम्मेदवारी परेको छ । वस्तुगगत सदस्यमा कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाईँ, राजु नेपाल र शम्भु पुडासैनीको उम्मेदवारी परेको छ ।

सुवेदी र श्रेष्ठको उम्मेदवारी रद्दः

मकवानपुर उद्योग वाणिज्य संघको शनिबार हुने निर्वाचनका लागि उम्मेदवारी दिएको दुईजनाको उम्मेदवारी रद्द भएको छ । वाणिज्यतर्फ मनहरी आरक्षण सदस्य नारायण सुवेदी र उद्योग तर्फका सदस्यको उम्मेदवार गंगा कुमारी श्रेष्ठको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिए । संघको विधान अनुसार ‘कार्यसमितिको पदाधिकारी एवम् सदस्यहरुको निर्वाचन हुने मितिभन्दा २ वर्ष अगाडि सदस्यता प्राप्त गरेको सदस्यहरुले मात्र निर्वाचनमा उम्मेदवारी दिन मिल्ने व्यवस्था भएको हुँदा दुबैजनाको उम्मेद्वारी रद्द भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*