एनपीएल ट्रफीसहित जनकपुर बोल्ट्स हेटौँडामा

हेटौडा न्युज
२३ पुष २०८१, मंगलवार १७:०६
;

मकवानपुर/पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्स विजय उत्सव मनाउने क्रममा हेटौँडा आइपुगेको छ । पहिलो संस्करणको एनपीएल विजेता जनकपुर बोल्ट्सको टिम ट्रफीसहित मंगलबार हेटौँडा आएको हो । हेटौँडामा टोलीले आफ्नो शैक्षिक साझेदार हेटौँडा स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीमाझ विजयको खुसी साटेको छ ।

क्याप्टेन अनिल साहसँगै खेलाडीहरू ललित राजवंशी र अरनिको यादव तथा जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देल र उत्कृष्ट सिग्देल हेटौँडा आइपुगेका थिए । उनीहरूले हेटौँडा स्कुल अफ म्यानेजमेन्ट र नवोदय शिशु सदन माविमा ट्रफी प्रदर्शन गरेका छन् । सो अवसरमा विद्यार्थीहरूले खेलाडीहरूको हस्ताक्षर संकलन समेत गरेका थिए ।

टोलीलाई हेटौँडामा स्वागत गर्दै हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले खेलको विकासका लागि शैक्षिक साझेदारको रुपमा कलेज जनकपुर बोल्ट्ससँग जोडिएको बताए । एनपीएलमा जनकपुर बोल्ट्सको शैक्षिक साझेदार बन्नका लागि कलेजले २५ लाख रुपैयाँ खर्चेको थियो । यस्तै आफ्ना पूर्व विद्यार्थीसमेत रहेका बोल्ट्सका क्याप्टेन अनिल साहलाई हेटौँडा स्कुल अफ म्यानेजमेन्टले कलेजको ब्रान्ड एम्बासडर बनाएको छ ।

कार्यक्रममा विद्यार्थीसँग अन्तरक्रिया गर्दै क्याप्टेन साहले उपाधि जित्दाको खुसी हेटौँडामा साट्न पाउँदा खुसी लागेको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*