निकुञ्जले भन्यो – भाग्ने कोशिस गरेको हुँदा नियन्त्रणमा लिन हवाई फायर
मकवानपुर/बिहीबार दिउँसो हेटौँडामा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिनका लागि हवाई फायर गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । हेटौँडा ८ गर्देईमा नेपाली सेनाले गोली चलाएको विषयमा जनचासो बढेपछि निकुञ्जले प्रेस विज्ञप्तिमार्फत घटनाको जानकारी गराएको हो ।
निकुञ्जले जारी गरेको विज्ञप्तिमा शंकास्पद व्यक्तिले बल प्रयोग गरी भाग्ने कोशिस गरेको हुँदा पाँच राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको उल्लेख छ । त्यसक्रममा अन्दाजी ४० वर्षका एक पुरुषलाई गैँडाको खागजस्तो देखिने वस्तुसहित नियन्त्रणमा लिएको बताइए पनि उनको परिचय भने खुलाइएको छैन ।
निकुञ्जले विज्ञप्तिमा गैँडाको खाग ओसारपसार भइरहेको हुनसक्ने विशेष सूचनाको आधारमा चितवनबाटै उक्त शंकास्पद व्यक्तिलाई पछ्याउँदै आएको उल्लेख गरेको छ ।
दिउँसो निकुञ्जका संरक्षण अधिकृत दिवेश श्रेष्ठ र निकुञ्जको सुरक्षार्थ खटिएको नयाँ गोरख गणका उपसेनानी दिपक बाँस्कोटासहितको सादा पोसाकमा रहेका सेनाको टोलीले हेटौँडा ५ र ८ को सिमा गर्देई पुलनजिकै गोली चलाएपछि स्थानीय त्रसित बनेका थिए ।
स्थानीयले बस्तीको बीचमा सेनाको टोलीले गोली चलाएर स्थानीयलाई आतंकित पारेको भन्दै विरोध जनाएका थिए ।