एमबिबिएसमा बाजेबज्यैसँग बालबालिकाले मनाए ज्येष्ठ नागरिक दिवस

हेटौडा न्युज
११ पुष २०८१, बिहीबार २१:१८
;

मकवानपुर/हेटौँडा उपमहानगरपालिका १८, हर्नामाडीमा रहेको मकवानपुर बाल विद्या सदन (एमबिबिएस) विद्यालयले विद्यार्थीका हजुरबुबा-हजुरआमालाई भेला गरेर ज्येष्ठ नागरिक दिवस मनाएको छ । बिहीबार राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विद्यालयमा अध्ययनरत कक्षा युकेजीदेखि २ सम्मका विद्यार्थीका हजुरबुबा-हजुरआमाको भेला गराएर दिवस मनाएको हो ।

कार्यक्रममा उपस्थित हजुरबुबा-हजुरआमाहरू कान्छी जिम्बा, मनमाया स्याङ्तान, बद्रि कुँवर र गोपाल थापाले सहभागीहरूलाई कथा सुनाएका थिए भने सोमप्रसाद खतिवडाले भजन गाएर सुनाएका थिए । थापाले आफूले कथा हाल्न नजाने पनि नातिनीलाई सुनाउनकै लागि कथाका किताब किनेर पढेको प्रसङ्ग सुनाउँदै विद्यालयको पुस्तकालयलाई २ थान किताब उपहार दिएका थिए ।

सो अवसरमा बालबालिकाहरूले हजुरबुबा-हजुरआमाहरूका लागि नृत्य, गायन तथा कविता वाचन गरेर सुनाएका थिए ।

जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य समेत रहेकी विष्णुमाया थपलियाले कार्यक्रमको समीक्षा गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा बाजेबज्यैको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

विद्यालयका अन्य कार्यक्रमहरूमा अधिकांश आमाबुबाको मात्रै उपस्थिति हुने गरेको उल्लेख गर्दै विद्यालयका प्रिन्सिपल सुदीप गिरीले बालबालिकाको हजुरबुबा-हजुरआमा पुस्तासँगको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*