सुरु भयो दोस्रो कमाने महोत्सव

सन्ध्या आचार्यलाई कमाने वर्ष व्यक्ति सम्मान
हेटौडा न्युज
११ पुष २०८१, बिहीबार १८:३३
;

मकवानपुर/दोस्रो कमाने महोत्सव २०८१, स्थानीय पर्यटन प्रबर्द्धन एवम् व्यापार प्रदर्शनी सडक महोत्सव कमानेमा सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा सुरु भएको मेला ३ दिनसम्म चल्नेछ ।

बिहीबार मेलाको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले स्थानीय उत्पादनको प्रबर्द्धन र व्यवसायीकरणमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उपमहानरपालिकाको घोषित नीति नै भएको उल्लेख गर्दै नगरप्रमुख लामाले स्थानीयहरू आफैँ जुटेर सुरु गरेको महोत्सवको प्रशंसा गरिन् । स्थानीय सरकारले विभिन्न किसिमका स्वरोजगारमूलक तालिम दिएर उत्पादनलाई प्रोत्साहन गरेको भन्दै उनले यस किसिमका महोत्सवले बजारीकरणमा सघाऊ पुग्ने बताइन् ।

उपप्रमुख राजेश बानियाँले भौतिक पूर्वाधार मात्र नभई वडाको आर्थिक तथा सांस्कृतिक विकासका लागि समेत उत्तिकै लागिपरेको भन्दै आयोजक ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण थापा र वडाबासीहरूको प्रशंसा गरे ।

कमानेमा दोस्रोपटक सुरु हुँदै गरेको महोत्सवमा झन्डै एक सय स्टलमा वडाका विभिन्न टोलविकास संस्था तथा उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू बिक्रीका लागि राखिएका छन् । मेलामा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूले सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिने बताइएको छ ।

आचार्यलाई कमाने वर्ष व्यक्ति सम्मान

दोस्रो कमाने महोत्सवका अवसरमा हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयले नृत्य प्रशिक्षक सन्ध्या आचार्यलाई ‘कमाने वर्ष व्यक्ति २०८१’ बाट सम्मानित गरेको छ ।

नृत्य तथा खेलकुदको माध्यमबाट कमानेलाई देश तथा विदेशमा समेत परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आचार्यलाई नगद २५ हजार, पदक तथा सम्मानपत्रसहित सम्मानित गरिएको हो । नेपाल टेलिभिजनबाट प्रसारित डान्स रियालिटि शो ‘छमछमी सिजन ४’ की विजेता आचार्यले विभिन्न म्युजिक भिडियोहरूमा अभिनय गर्नुका साथै नृत्य प्रशिक्षकको रुपमा कार्यरत छिन् । एथलेटिक्सतर्फ राष्ट्रिय खेलकुदमा मकवानपुरको प्रतिनिधित्व गरिसकेकी उनले प्रशिक्षक तथा रेफ्रीको कोर्स समेत पूरा गरिसकेको आयोजकले जनाएको छ ।

यसै वर्षदेखि सुरु गरिएको वर्ष व्यक्ति सम्मान हरेक वर्ष कमानेको गरिमा बढाउन विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिने वडाध्यक्ष रामकृष्ण थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*