कहिलेकाहीँ पुरुषवादी देखिन सक्छु – मोमिला
मकवानपुर/कवि तथा निबन्धकार मोमिलाको निबन्धसङ्ग्रह प्रश्नहरू त बाँकी नै रहन्छन् माथिको अन्तरक्रियात्मक बहस हेटौँडामा भएको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरले शुक्रबार साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा साहित्यकार मोमिलाले लेखनको प्रवाहमा आफ्नो कुनै नियन्त्रण नरहने बताइन् । समीक्षक निमेष निखिल र सहजकर्ता सुवास खनालसँगको छलफलमा सहभागी हुँदै उनले यसलाई आफ्नो लेखनको शक्ति र सीमा दुवै रुपमा बुझिदिन पाठकसँग आग्रह गरिन् । लेखनमा वा वादको सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा मोमिलाले आफू ‘वाद’हरूको घेरामा सीमित हुन नरुचाउने बताइन् । अधिकांश नारी लेखकहरू ‘नारीवादी लेखन’मा केन्द्रीत रहेको प्रसङ्गमा उनले व्यङ्ग्यात्मक हुँदै भनिन्, ‘बरु कहिलेकाहीँ पुरुषवादी जस्तो देखिन सक्छु ।’
शनिबार प्रदेश युवा परिषद्को आयोजनामा हुने राष्ट्रिय युवा कविता उत्सव-२०८१ मा एकल कविता वाचनका लागि हेटौँडा आइपुगेकी मोमिलाका निबन्ध प्राविधिक दृष्टिले उच्चस्तरको रहेको समीक्षक निमेष निखिलको भनाइ थियो । सुरुवाती पाठकका लागि मोमिलाका निबन्ध छिचोल्न गाह्रो पर्ने धारणा राख्दै निखिलले मोमिलाले निबन्धमा नयाँ शब्द निर्माणमा गरेको प्रयोगबारे प्रश्न राखेका थिए । जवाफमा निबन्धकारले (महाकवि) देवकोटाले उस्तै शैलीका शब्द निर्माण गर्दा प्रयोग हुने र मोमिलाले गर्दा व्याकरणका नियम मिचिने मापदण्ड बनाउन नमिल्ने बताइन् ।
कार्यक्रममा कवि शान्ति प्रियवन्दनाले मोमिलाको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेकी थिइन् । सो अवसरमा आयोजक आँचल साहित्य कला पुञ्जले कवि मोमिलाको निरन्तर साहित्य साधनाका लागि कदर-पत्रद्वारा सम्मान समेत गरेको छ ।