यू-१९ महिला एसिया कप: पाकिस्तानलाई हराउँदै नेपाल सुपर-४ मा
मकवानपुर/एसिसी यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । यससँगै भारत र पाकिस्तान सम्मिलित समूहबाट नेपालले नेपाल सुपर-४ मा स्थान सुरक्षित गरेको छ।
समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर बाहिरिएसँगै नेपाल भारतसँगको खेलअघि नै सुपर-४ मा पुगेको हो । समूहको पहिलो खेलमै पाकिस्तानलाई भारतले हराएको थियो ।
नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ ।
नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन् । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । यस क्रममा पूजाले नटआउट ४७ रन जोडिन् ।
त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन जोडेको थियो । पाकिस्तानका लागि ओपनर तथा विकेटकिपर ब्याटर कोमल खानले सर्वाधिक ३८ रन जोडिन् ।
बलिङमा नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १-१ विकेट लिए । पूजा खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।