सरकारी नम्बर प्लेटका गाडीबाट गाँजा बरामद, एक जना नियन्त्रणमा
सुनसरी । धरान उपमहानगरपालिका वडा नम्बर–१३ स्थित अमरहाटबाट हिजो राति प्रहरीले ६ सय ९० किलो लागूऔषध गाँजा बरामद गरेको छ । सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूबाट प्रहरीले सो परिमाणको गाँजा बरामद गरेको हो ।
सुनसरी प्रहरीका अनुसार बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ३ सय ३० किलोग्राम र बा.१ झ ५१२७ नम्बरको स्कार्पियोबाट ३ सय ६० किलोग्राम गाँजा फेला पारेको जनाएको छ । प्रहरीले गाडीका चालक ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ भने, अर्का सवारीका चालक गाडी छोडेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले फरार चालकको खोजी भइरहेको र गाडीको विषयमा समेत अनुसन्धान शुरु गरिएको डिएसपी रामप्रसाद तिमल्सिनाले जनाएका छन् ।