राक्सिराङद्वारा कैदीबन्दीलाई खाद्यान्न र सफाई सामग्री हस्तान्तरण

हेटौडा न्युज
२३ आश्विन २०८१, बुधबार १८:३३
;

राक्सिराङद्वारा कैदीबन्दीलाई खसी, खाद्यान्न र सफाई सामग्री हस्तान्तरण राक्सिराङ गाउँपालिकाले बडादशैंको अवसरमा भीमफेदी कारागारमा कैदी जीवन विताईरहेकाहरुलाई दसैं मनाउन खसीका साथै खाद्यान्न र सरसफाई सामग्री सहयोग गरेको छ । भीमफेदी क्षेत्रीय कारागारमा विभिन्न मुद्दामा कैदीजीवन विताईरहेकाहरुका लागि आज बुधबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङलगायतले कारागारमा पुगेर ती सामग्रीहरु जेल प्रशासनलाई हस्तान्तरण गरेका थिए । पालिकाले एउटा खसी, तीन बोरा चिउरा, सरसफाईका सामग्रीहरु डस्बिन, कुचो, हर्पिकलगायत सहयोग गरेको थियो भने मनहरीका तीन सामुदायिक वन समूहका तर्फबाट अर्को थप एक खसी सामुदायिक वनका तर्फबाट मनहरी गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष ठाकुरराम तितुङसहितले हस्तान्तरण गरेका थिए ।

कैदीबन्दी जीवन बिताइरहेकाहरु मध्ये केही राक्सिराङ गाउँपालिकाको पनि रहेकाले कारागारमा बस्दा पनि केही खुशी होउन्, सबैले खुसीयाली साथ चाडपर्व मनाउन पाउन् भन्ने उद्देश्यले आफूहरुले हरेक वर्षको दसैंमा खाद्यान्न, खसीलगायत सहयोग गर्ने गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लको भनाई रहेको छ । आफूहरुले २०७४ सालपछि दशैंमा यस्तो सहयोगको सुरुवात गरेको र पछिल्लो समय अन्य क्षेत्रहरुबाट पनि कारागारमा सहयोग आउन थालेकोमा अध्यक्ष मल्लले खुशी व्यक्त गरेका थिए । भीमफेदी क्षेत्रीय कारागारका दुई वटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको छ । कारागारमा एक हजार ४४ पुरुष, ४८ महिला कैदीबन्दी र एक जना आश्रित नाबालक छन् । जसमध्ये मकवानपुर स्थायी ठेगाना भएका २ सय ५८ मध्ये राक्सिराङ गाउँपालिकाको २९ जनाले कैदीजीवन बिताईरहेको कारागार प्रशासनले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*