आलु बोकेको ट्रकमा १ करोड बढीको अवैध कपडा

हेटौडा न्युज
३ आश्विन २०८१, बिहीबार १८:४१
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भन्सार छली ल्याएको १ करोडभन्दा बढी मूल्यको अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको छ । गत बुधबार राति मकवानपुर प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट भन्सार छली ल्याएको अनुमानित १ करोड ३५ लाख मूल्यको अवैध लत्ताकपडा सहित २ जनालाई पक्राउ गरेको हो । सुनसरी जिल्लाको भन्सार नाकाबाट ३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर भित्रिएको बि आर ०५ जि डि १३४३ नम्बरको भारतीय ट्रकबाट सो सामग्री बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

ट्रकको माथिल्लो भागमा आलुको बोरा र भित्री भागमा ७४ बोरा विभिन्न खाले लत्ताकपडाहरु ल्याइएको आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको थियो । प्रहरीले ट्रक चालक भारत बिहार राज्यको मोतिहारी जिल्ला पूर्वी चम्पारण सपही बस्ने ३० वर्षका जन्दार आलम र सहचालक सोही स्थानको बन्जरिया चौलाहा कलोनी बस्ने १९ वर्षका मुना मियालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद कपडा र ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय बाराको पथलैया पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*