अब मनहरीबाट राक्सिराङहुँदै सिधै मलेखु

मकवानपुर । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक निर्माणको काम पूरा भएको छ । राक्सिराङ गाउँपालिकाको दुङ्गु–गार्खा–रतुवा खण्ड छिचोलिएसँगै सो सडकको सबै ट्रयाक निर्माण सकिएको हो । खोलाको अस्थायी बाटो हुँदै केही वर्षअघिदेखि नै मनहरी–मलेखु सडकमा साना सवारीहरु आवतजावत गर्न थालेता पनि अब भने खोलाको बाटो बिनै धादिङ जिल्लाको मलेखु निस्कन सकिने भएको छ । मकवानपुरको मनहरी–बोडबारी–रतुवा–चौकीटार–खैराङ हुँदै धादिङको सिमानासम्म नयाँ सडक ट्र्याकबाटै आवतजावतको शुरुवात भएको छ ।
विगतमा १२ घण्टा हिडेर मनहरी बजार, हेटौंडा जानु पर्थ्यो, अब त्यो दुःख सकिएको ४ नम्बर वडा अध्यक्ष सञ्जय कोईरालाको भनाई छ । चेपाङ, तामाङ समुदायको बसोबास रहेको पिछडिएको राक्सिराङका स्थानीयले ठेकेदारले समयमा काम नसकेपछि स्थानीय आफैले पहल गरेर ट्र्याक खोल्न सफल भएको पालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाको भनाई छ । मनहरीबाट मलेखु जोड्ने छोटो मार्गको ट्रयाक निर्माणको काम पूरा भएको र अब बर्षायाममा पनि मनहरीबाट मलेखु निस्कन सक्ने अवस्था बनेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताएका छन् ।
गार्खा रतुवा खण्डको ट्रयाक पूरा गर्नको लागि तीन वर्षअघि नै ठेक्का लगाइएको भएता पनि कडा चट्टानका कारण निर्माण कम्पनीले काम गर्न सकेको थिएन । ठेकेदारमार्फत काम नभएपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले दुंगुबाट गार्खा र गार्खाबाट रतुवासम्म दुइ खण्ड बनाएर उपभोक्ता समितिमार्फत काम गराएको थियो । दुइ खण्डमा ८० लाख रुपैयाँ खर्चिएर यस वर्ष ट्रयाक निर्माण पूरा गरिएको पालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन् । सडकको स्तरोन्नति र दुई ठाउँमा पक्की पुल निर्माण भईरहेको छ ।
मनहरीदेखि मलेखुको दुरी ५२ किलोमिटर मात्रै छ । सो सडकले स्थायित्व पाएपछि राक्सिराङ र कैलाश गाउँपालिकाका आम नागरिकको जीवनस्तरमा परिवर्तन हुने अपेक्षा गरिएको छ । यो सडकको स्थायित्व भएसँगै राक्सिराङ र कैलाशका विकट गाउँका चेपाङ, तामाङ जस्ता पिछडिएका समुदायको जीवनस्तरमै सुधार हुने विश्वास गरिएको छ । मुग्लिन सडक खण्डमा केही समस्या आएमा विकल्पका रुपमा यो सडक प्रयोग गर्न सकिने भएको छ । ७ बर्ष अघिसम्म राक्सिराङ गाउँपालिका सडक निर्माण शून्य अवस्थामा रहेको थियो ।