गाउँपालिका महासंघको अधिवेशन हेटौंडामा शुरु

मकवानपुर । गाउँपालिका राष्ट्रिय महासंघको बागमती प्रदेश अधिवेशन आजबाट हेटौंडामा शुरु भएको छ । प्रदेशका ११९ वटै पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरु अधिवेशनमा सहभागि हुन हेटौंडा आईपुगेका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवा सुविधाको योजना बनाउँदा सबैभन्दा बढी जरुरी रहेको क्षेत्रलाई नै पहिलो पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले बार्षिक योजनामा राख्नु पर्ने धारणा राखेका थिए ।
अधिवेशनमा सम्बोधन गर्दै मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारले गाउँ/नगरसभा सम्बन्धि ऐन, कर्मचारी सेवा सुविधा सम्बन्धि ऐन, कर्मचारी व्यवस्थापन ऐन मात्रै बनेको र अन्य आवश्यक ऐन निर्माण चरणमा रहेको बताएका छन् । अधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।