आज घटस्थापना, सुरु भयो दसैं

हेटौडा न्युज
१० आश्विन २०७९, सोमबार १७:३२
;

हिन्दु नेपालीहरूको प्रमुख चाड विजया दशमी अर्थात् बडा दसैंको आज सोमबार पहिलो दिन । आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने दसैं १५ दिन कोजाग्रत पूर्णिमा सम्म मनाइन्छ ।

नवरात्र सुरु भएसँगै विभिन्न देवालयहरूमा दर्शनार्थीको भीड देखिन थालेको छ । काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भीड छ । यस अवसरमा भद्रकाली, संकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

दुर्गाको प्रतिकका रूपमा यस दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । दसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाति भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमासमेत मनाउने गरिन्छ ।

यसैबीच घटस्थापनाको उत्तम साइत १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्ष दसैंको टीका भने असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम मानिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*