स्थगित हेटौंडा उपमहानगरको नगर सभा आज

मकवानपुर । एमालेले राखेको मागलाई मेयरले सम्बोधन गर्ने भएपछि गत असार १० गते स्थगित हेटौंडा उपमहानगरको नगरसभा आज भएको छ । बहुमत कार्यपालिकाका सदस्यहरूको उपस्थितिमा आज मेयर मीनाकुमारी लामाले सम्बोधन गर्ने प्रतिबद्वता गरेपछि ढिलो गरी नगरसभा भएको हो । नेकपा एमाले सम्बद्व ५४ जना बहुमत सदस्यले पेश गरेको संसोधन प्रस्ताव नगरसभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने, विषयगत समितिहरू सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामुहिक छलफलबाट टुङ्गो लगाउने मेयर लामाको प्रतिबद्धता जनाएपछि नगरसभा भएको हो । गत १० गते एमालेका कार्यपालिका सदस्यहरुले उपस्थितिमा हस्ताक्षर नगरी हिडेपछि नगरसभा स्थगित भएको थियो ।
उपमहानगरको बजेट २ अर्ब ७१ करोड
हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज हेटौँडामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन भएको छ । वन तथा वातावरण तर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा सस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ । विविध कोष तर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको छ ।
मेयरको पहिलो निर्णय कार्यान्वयन गर्न ५३ लाख
सपथ ग्रहणपछिको पहिलो निर्णय कार्यान्वयन गर्न ५३ लाख विनियोजन गरिएको छ । कार्यभार सम्हालेको दिन मेयर लामाले सीमान्तकृत तथा गरिव १ हजार ५ सय ४१ घरपरिवारको स्वास्थ्य वीमा, खानेपानी र विद्युत समेत निशुल्क गर्ने निर्णय गरिएको थियो ।