महानगर, उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

मकवानपुर । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ । मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले बताए ।
एमालेको चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ । एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।