पार्टीभित्र हुने अन्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्छौ: शेखर कोइराला

मकवानपुर । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र हुने अन्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्ने बताएका छन् ।
नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने बताएका हुन् ।
‘पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौं ।’ उनले मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएको उल्लेख गर्दै त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने बताएका छन् ।
साथै, हरेक अनुकूल र प्रतीकुल परिस्थितिमा भने व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विपक्षीसँग लड्ने प्रण गर्नुपर्ने उनको भनाइ छ ।