प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध गर्ने

मकवानपुुर । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ ।
त्यसअघि प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा विरोध जनाउँदै आएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोधलाई निरन्तरता दिने बताए । यसअघि पुस ७ गतेको प्रतिनिधि सभा बैठकले एमालेको विरोधका बीच चार वटा अध्यादेश स्वीकृत गरेको थियो । सो दिन नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको थियो । आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले हिउँदे अधिवेशनको पहिलो बैठकदेखि पनि विरोध जारी राखेको छ ।