काङ्ग्रेस मकवानपुरको २ वटै क्षेत्रको अधिवेशन आज

मकवानपुर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको लागि मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ को क्षेत्रिय अधिवेशन आज हुँदै छ ।
नेपाली कँंग्रेस मकवानपुरका अनुसार क्षेत्र नम्बर १ को अधिवेशन हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा र क्षेत्र नम्बर २ को आधिवेशन हेटौंडा–१ को डल्फिन चौरमा हुँदै छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट दामोदर खनाल र संस्थापन इतरका धर्मराज लामिछानेले उम्मेद्वारी दिँदै छन् ।
खनाल र लामिछाने बकैया गाउँपालिका वडा नम्बर ५ पावसको एकै गाउँका हुन् । खनाल २०७४ को स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । भने लामिछाने प्रदेश सभा सदस्यको उम्मेदवार रहेका थिए ।
यसैगरि,क्षेत्र नम्बर २ मा देउवा पक्षबाट लोक बहादुर मुक्तान र संस्थापन इतरका ईश्वरनाथ पौडेलले उम्मेद्वारी दिँदै छन् । देउवा पक्षबाट क्षेत्रिय सभापतिको लागि आईतबार साँझ खनाल र मुक्तान संयुक्त पत्रकार सम्मेलन गर्दै क्षेत्र नम्बर १ र २ बाट आफ्नो प्यानल सहित उम्मेद्वारी रहने जनाएका थिए ।