कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै

मकवानपुर । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् ।
प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ । सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुन लागेका हुन् । तिनै जना मन्त्री सरकारमा जानुअघि नेकपा (एमाले)का सांसद हुन् ।
पार्टीको निर्देशनविपरीत गत वैशाख ३ गते ‘फ्लो क्रस’ गरेर माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिए । त्यसलगत्तै मुखयमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ४ गते तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । पछि एमालेले कारबाही गरेपछि उनीहरूले सांसद पद गुमाएका थिए ।