नेता बानियाँद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

मकवानपुर । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
नेता बानियाँले आफ्नो सेवासुविधाबापत प्राप्त रकममध्येबाट एक लाख रूपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् । उनले सहयोग रकम आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हेटौंडा आश्रममा पुगेर हस्तान्तरण गरेका छन् । मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरूको सेवामा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफ्नो सेवासुविधाबापतको रकम हस्तान्तरण गरेको बानियाँले बताए ।
उनले आश्रमले परिवारबाट विछोड भएका, मानसिक रूपमा विक्षिप्त, शरीरिक रूपमा अशक्त र सडकमा कठिन जीवन विताउने क्रममा जन्मिएका र अलपत्र भेटिएका शिशुको गाँसबास, उपचार एवं बृत्तिबिकास र पुनर्मिलनमा गरेको कार्य मानवताको उच्चतम उदाहरण भएको बताउँदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।