युवा नेता न्यौपानेद्वारा नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१ का वडा अध्यक्ष समेत रहेका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा नगर अधिवेशनमा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् । काङ्ग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उमेदवारी दिन लागेको न्यौपानेले बताए । उनले भने “पदमा पुग्न मरिहत्ते गर्ने तर, जितेपछि कार्यकर्ता र जनताको समस्या बेवास्ता गर्ने गलत परिपाटीको अन्त्य गर्न पनि मेरो जीत आवश्यक रहेको छ ।” उनी डेढ दशक पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर सक्रिय राजनीतिमा होमिएका हुन् ।
उनले सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी सङ्गठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागिपर्ने घोषणा समेत गरेका छन् ।