हेटौंडाको युनिलिभरमा ३२ टन डेट एक्स्पायर चिया भेटिएपछि प्रशासनद्वारा सिल
मकवानपुर । हेटौंडा–३, बसामाडीमा रहेको बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चियापत्ति प्लाण्टमा स्थानीय प्रशासनले सिल गरेको छ । विभिन्न स्थानबाट आयात गरिएको म्याद गुज्रिएको (डेट एक्स्पायर) चियापत्तिलाई रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्राण्डमा बजार पठाउने गरेको फेला पारिएसँगै सिल गरिएको हो । विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ति प्लाण्टमा अनुगमन गरेको बताईएको छ ।
अनुगमनको क्रममा रिप्याकेजिङ गर्न तयार रहेको ३५ केजी तौलका ९ सय २० बोरा (३२ टन २ सय केजी) अन्य कम्पनीका मिश्रित चियापत्ति फेला पारिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताएका छन् । अनुगमन टोलीका अनुसार सन् २०१९ मा उत्पादित चियापत्ति सन् २०२० को जुन् महिनाभित्र प्रयोग गरिसक्नु पर्ने जनाएको छ । म्याद गुज्रिएको डेढ बर्ष भईसकेको चिया पुनः रिप्याकेजिङ गर्नु उपभोक्ता माथिको ठगी रहेको उपभोक्ता हित संरक्षण मञ्चका बासुप्रसाद खतिवडाले बताएका छन् । नेपाली आम जनताको भान्सामा बहुर्राष्ट्रिय कम्पनीको विश्वासका साथ प्रयोग गर्दै आएकोमा यसले उद्योगको उत्पादन माथि नै प्रश्न उठेको र नेपाली उपभोक्ताहरुलाई ठगी गरिरहेको उपभोक्ताकर्मीहरुको भनाई रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्न लागि परेको अभियोजनमा मुद्दा अघि बढाउन लागिएको बताएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याद गुज्रिएका, लेबल नभएका खाद्य सामग्री तत्काल नष्ट गर्न २०७६ कार्तिक १७ गते मातहत कार्यालयलाई निर्देशन दिएको छ । यस अघि मकवानपुरमा हुने गरेको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएको सामग्री सोझै नष्ट गर्ने गरेको थियो ।
तर युनिलिभरका डेट एक्स्पायर चियापत्ति नष्ट नगरी परीक्षणका लागि विभाग पठाउनुले यो विषयलाई कमजोर बनाउन लागेको उपभोक्ताकर्मीहरुको आरोप रहेको छ । यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले अभियोजन गर्न र मुद्दालाई थप बलियो बनाउन परीक्षण गर्न लागिएको दाबी गरेको छ ।
अनुगमनका तस्वीरहरु: