बागमती प्रदेशका १२ जना प्रदेशसभा सदस्यहरु माधव नेपाललाई पछ्याउँदै एकीकृत समाजवादीमा

मकवानपुर । बागमती प्रदेश सभाका १२ जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादी दल चयन गरेका छन् ।
मंगलबार दिउँसो उनीहरूले बागमती प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गरेका हुन् । हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ र प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण प्रसाद खनालले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
नेकपा एमालेबाट चुनाब जितेका १२ जना प्रदेशसभा सदस्यहरुले एमाले फुटेपछि माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादी दल चयन गरेका हुन् । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले हाल १२ जनाले एकीकृत समाजवादी चयन गरेको र यो सङ्ख्या बढ्ने दाबी गरेका छन् ।