बालकोट वार्ता: १० बुँदे कार्यान्वयनको प्रतिबद्धता

मकवानपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहानैदेखि भएको १० बुँदे कार्यान्वयनको निर्णायक छलफलमा माधव नेपाल छाडेका सबै स्थायी कमिटी सदस्य सहभागी भएका थिए ।
आफूहरूसहितको सहमतिमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्नुपर्ने र १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने अडानमा रहेका नेताहरूले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबाट ग्यारेन्टी मागेका छन् ।
नेतृत्वले कार्यान्वयनको प्रतिबद्धता जनाएपछि उनीहरू मंगलबारको बैठकमा सहभागी हुन तयार भएका छन् । छलफल चलिरहेका बेला एमाले प्रवक्ता तथा विघटित वार्ता टोलीका सदस्य प्रदीप ज्ञवाली पनि बालकोट पुगेपछि वार्ता सहमतिनजिक पुगेको अनुमान गरिएको थियो ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गर्न मध्यमार्गी धारका नेताहरू भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई थिए । छलफलकै बीचमा प्रदीप ज्ञवाली पनि थपिएका थिए ।