बागमती प्रदेश सरकार पुर्नगठन हुने सङ्केत

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ती भएसँगै बागती प्रदेशको सरकार परिवर्तनको हल्लाले चर्चा पाएको छ ।
संघीय सरकारमा एमालेकै माधव पक्षले देउवालाई प्रधानमन्त्री बन्न सहयोग गरेपछि बागमती प्रदेशको सरकारपनि परिवर्तन हुने हो कि भन्न आशंका बढेको छ । नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले हल्ला भएअनुसार सरकार परिवर्तनको कुनै संभावना नरहेको बताए ।
उहाँले विगतमा पनि सरकार पुर्नगठन भएको सन्दर्भमा माधव पक्षीय सांसदहरुसँग छलफल गरेर सरकार पुर्नगठन गर्न सकिने भएपनि सरकारनै परिवर्तन भने नहुने दावी गरे । बागमती प्रदेशमा अहिले एमालेको एकल बहुमतको सरकार रहेकाले पुर्नठन गर्नु परेपनि माधव नेपाल पक्षका नेतृ अष्टलक्ष्मी शाक्यसँग छलफल गरेरमात्रै मुख्यमन्त्री डोरमणि पौडेलले सरकार पुनर्गठन गर्ने मुख्य सचेतक निरौलाले बताए ।
केन्द्रमा जे जस्तो भएपनि केन्द्र सरकारको प्रभावले बागमती प्रदेशमा शक्ति सन्तुलन फेरबदल नहुने निरौलाले दाबी गरे । बागती प्रदेशमा माधव नेपाल पक्षका सांसदहरु पनि एमाले मिल्नुपर्नेमा एकमत छन् ।
नेकपा एमाले बागमती प्रदेशले पार्टीको केन्द्रीय नेतृत्वलाई सकारात्मक सन्देश दिनेभन्दै विपक्षी दलहरुको असहमतीको बाबजुत प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो ।