बागमती प्रदेशको बजेट ५७ अर्ब , कोरोना रोकथामलाई २ अर्ब

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८÷७९ का विनियोजित बजेट सार्वजनिक भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आज प्रदेशसभामा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेका छन् । मन्त्री ढुङ्गेलले आज सार्वजनिक गरेको बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रूपैंया र पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रूपैयाँ विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ २ अर्ब विनियोजित गरिएको छ ।
बजेटमा राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउने विषय प्राथमिकतामा राखिएको छ । बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै २ अर्ब विनियोजन गरिएको छ । गत आवमा ५२ अर्ब रुपैयाँको बजेट आएको थियो ।