हेटौंडामा हिजो जुवाखालमा पक्राऊ परेका उपर करणीको समेत उजुरी

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हिजो जुवातास खेलिरहेका उपर जबर्जस्ति करणीको समेत उजुरी परेको जनाएको छ । हिजो दिउँसो हेटौंडा–४ बाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राऊ गरेको थियो । पक्राऊ परेका उपर एक किशोरीले आफूलाई शरीर बन्धक बनाई जबर्जस्ति करणी गरेको उजुरी हिजो साँझ दिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।
प्रहरी टोलीले हेटौंडाका बर्ष ४० को रुस्तम कोईराला बर्ष ५४ को अमर प्रधान, बर्ष ४० को प्रकाश मानन्धर, बर्ष ३३ को बिनोद घर्ति र चितवनका बर्ष ४४ को सुरेश पौडेललाई पक्राऊ गरेको थियो । प्रहरीले जुवातास खेलिरहेको स्थानबाट ती किशोरीलाई समेत फेला पारेको थियो ।
मकवानपुर प्रहरीका अनुसार जुवातास सम्बन्धि अनुसन्धान गरिरहेकोमा उजुरी आएपछि जबर्जस्ति करणीमा समेत अनुसन्धान हुने जनाएको छ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा २८ हजार नगद र ६ बुक तास फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।