राष्ट्रियसभा उप–निर्वाचनमा बादल पराजित, खिमलाल विजयी

मकवानपुर । राष्ट्रियसभा सदस्यको उप–निर्वाचनको आज हेटौंडामा भएको मतदानमा ५ हजार ८८ मतभारसहित खिमलाल देवकोटा विजयी भएका छन् । उक्त निर्वाचनमा निकतम प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर थापा बादलले ४ हजार १४ मतभार प्राप्त गरेका थिए । विजयी देवकोटा १ हजार ७४ मतभारले विजयी भएका हुन् । आजको निर्वाचनमा नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका थिए ।
आजको निर्वाचनमा ३ सय ४८ मतदाता रहेकोमा ९ जना मतदाता अनुपस्थित रहेका थिए भने एकजनाको मृत्यु भएको छ । विजयी देवकोटालाई नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्षको समर्थन रहेको थियो । आजको निर्वाचनमा बागमती प्रदेशका १ सय १० सांसद र १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखहरु गरी ३ सय ४७ जना मध्ये ३ सय ३८ जनाले मतदान गरेका थिए । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको छ ।