वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव

काठमाडौं । सरकारले पहिलो चरणमा ४ वटा प्रदेशका ४० जिल्ला र दोस्रो चरणमा ३ वटा प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी बैशाख १७ गते पहिलो चरणमा ४ वटा प्रदेशका ४० र २७ गते दोस्रो चरणमा ३ वटा प्रदेशका ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो ।
वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ भने वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय गरेको हो।
गत पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचनका लागि राष्ट्रपति समक्ष सिफारीस गरेका थिए ।
प्रधानमनत्री ओलीले तिनिधिसभा विघटन गर्नुका साथै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिइन् ।
त्यसपछि संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिट परेका थिए। ती रिटहरुको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।