कांग्रेसको ‘गरिखाने अभियान’को रोड शो शुरु

काठमाडौं । नेपाली कांग्रेसको ‘गरिखाने अभियान’को रोड शो सुरु भएको छ । कांग्रेसले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले गरिखाने अभियानको रोड शो शुरु गरेको हो ।
यस अभियानको रोड शो कार्यक्रम माघ १४ गते आर्थिक केन्द्र वीरगञ्जबाट शुरु भई माघ १५ मा हेटौंडा, १६ मा मुग्लिन र १७ गते पोखरामा सम्पन्न भइसकेको छ । अब छिट्टै नै सुर्खेत, कैलाली, मेची र बुटवल लगायत देशका अन्य भागमा पनि यस अभियानको रोड शो आयोजना हुँदैछ ।
रोड शो कार्यक्रमलाई सम्बोधन गर्दै लगानी, पूर्वाधार र रोजगार समितिका संयोजक विनोद चौधरीले राजनीतिबाट औसत मानिसहरूले विकास र समृद्धिको अपेक्षा राख्ने गरेकोमा नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र जिम्मेवार दल भएकाले सरकारमा रहँदा र नरहँदा पनि जनताकै बीच रहेर देश र समाजको लागि काम गर्ने बताए ।
यो अभियान सीप विकास, स्थानीय सम्भावना पहिचान, उद्यमशीलता प्रवद्र्धन तथा विकासका साथै मुलुकमै रोजगारीको अभियान सिर्जनाको महाअभियान भएको कांग्रेसले बताएको छ ।
यो महाअभियानमा मुलुकभरबाट जो कोही जोडिन सक्नेछन् । यसका लागि कांग्रेसले प्रादेशिक समन्वय केन्द्रहरू स्थापना गरेको छ ।