नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्ताल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालले देशभरको जनजीवन प्रभावित भएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा सो. समुहले गरेको आमहड्तालमा एउटा ट्याक्सि जलाइएको छ ।
त्यस्तै सो समूहले गरेको बन्द उलंघन गर्ने १५ वटा सवारी साधनमा तोडफोड भएको छ ।
बिहीबार बिहानैदेखि प्रदर्शनकारी सडकमा ‘बन्द सफल पारौं’ भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले काठमाडौंको गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् ।
चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर ट्याक्सिमा आगजनी गरेका थिए ।
राजधानीसँगै उपत्यका बाहिरका विभिन्न जिल्लामा प्रदर्शनकारीले एउटा सरकारीसहित १५ वटा सवारीमा तोडफोड गरेको प्रहरी मुख्यालयले जनाएको छ।
प्रहरीले प्रदर्शनमा उत्रिएका १ सय ५७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई साँझ रिहा गर्ने बताएको छ ।
उता महोत्तरीमा भने प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । प्रहरीले प्रदर्शनकारी माथि लाठी चार्ज गरेर राजमार्ग खुलाएको हो ।
प्रहरीको लाठी प्रहरारबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।
रामेछापमा भने नयाँ शैलीको आमहड्ताल प्रदर्शन गरेका छन् । रामेछापमा बन्दकर्ताले बजार सरसफाई गरेका छन् ।
धनगढी र सिन्धुलीमा प्रचण्ड–नेपाल र ओली समूहबीच झडप भएको छ । ‘बन्दले देश बन्दैन’ भन्दै नाराबाजीमा उत्रिएको ओली समुहका कार्यकर्ता र प्रचण्ड–माधब समुहका कार्यकर्ता बिच झडप भएको हो ।
जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रचण्ड–माधब समुहका नेता रामचन्द्र झा घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर र १२ राउण्ड टियर ग्यास प्रहार गरेको छ ।
बन्द सफल पार्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्षद्वय प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु सडकमा उत्रिएका थिए। दाहाल गाडी चढेरै कोटेश्वर पुगेका थिए।
नेपाल भने स्कुटरमा चढेर अवलोकनका लागि भन्दै विभिन्न स्थानमा पुगेका थिए।